काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सँग सामूहिक रुपमा छलफल गर्ने निर्णय गरेको छ।
अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा सचिवालयका ५ जना सदस्य सहभागी भएका थिए। भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए।
प्रधानमन्त्री ओली निकटका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल सहभागी भएनन्।
पार्टी मुख्यालयमा बसेको बैठकले भोलि प्रधानमन्त्री ओलीसँग सामूहिक रूपमा पार्टी बैठक राख्ने बारेमा छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अब सहमतिको आधारमा बैठक बस्नका लागि भोलि प्रधानमन्त्री ओलीकहाँ सामूहिक छलफलका लागि जान्छौँ, उनले बैठकपछि भने, बैठक बस्नेका लागि अनुरोध गछौँ।
पार्टीभित्रको विवाद समाधान गरेर सकारात्मक ढंगबाट अघि जाने र पार्टी निर्णयको कार्यान्वयनको गर्न पहल गर्नका लागि बैठक आवश्यकता हुने उनले बताए। आज बसेको बैठक प्रधानमन्त्री ओलीको सहमतिमा भएको समेत उनले बताए।
























