काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आन्तरिक विवाद हल गर्न बसेको शीर्ष नेताहरुको आजको बैठकमा पनि बिना निष्कर्ष टुंगिएको छ।
विवाद नमिलेपछि फेरि भोलिका लागि डाकिएको केन्द्रीय समितिको बैठक पनि सरेको पार्टी मुख्यालय सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्ट हुँदै सभापति शेरबहादुर देउवाविरुद्ध दर्ता गरेको १६ बुँदे विरोध पत्रको विषयमा छलफल गर्न देउवा आफैँले शीर्ष नेताहरुलाई बोलाएका हुन्। शीर्ष नेताहरुको बैठक भोली पनि बस्ने कांग्रेसले जनाएको छ।
‘आज असन्तुष्ट नेताहरुले आफ्नो भनाइ राख्नुभयो। सभापतिज्यूले पनि जिज्ञासा मेटाउने प्रयास गर्नुभयो,’ कांग्रेस सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले भने, ‘केन्द्रीय समितिको बैठक चाहिँ भोलि नबस्ने भयो। भोलि शीर्ष नेताहरुकै बैठकले निरन्तरता पाउने भयो।’ कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २४ गते बस्नेछ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले एकलौटी ढंगले विभाग विस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप देउवालाई लगाएको छ।
एकलौटी गठन गरेको विभाग खारेज हुनुपर्ने माग पौडेल पक्षको छ। तर, देउवाले विभाग गठन फिर्ता नहुने र अरु विषयमा छलफल गर्न आफू तयार रहेको यस अघिको बैठकमा जवाफ दिइसकेकोले आज पनि सहमति हुने सम्भावना कम रहेको कांग्रेसकै नेताहरुले बताएका थिए ।





















