चितवन / चितवन जिल्ला अदालत बार एशोसियसनको भोलि (शुक्रबार) नेतृत्वका लागि चुनाव हुदैछ । २१ औँ जिल्ला अधिवेशसनले २ वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । १३ सदस्यीय कार्यसमितिका लागि २७ जना र ८ केन्द्रिय पार्षदका लागि १६ जना सहित ४३ जनाले उम्मेदवारी दिएका छन् ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) का दुई समूह प्रतिस्पर्धामा छन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा. हरिहर पोखरेल चुनावी मैदानमा हुनुहुन्छ । अधिकारी २०५९ सालमा जिल्ला बारको सचिव हुनुहुन्थ्यो । पोखरेल केन्द्रीय पार्षद हुनुहुन्थ्यो ।
निर्वाचन अधिकृत प्रकाशराज रेग्मीका अनुसार मतदातालाई मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ। अधिकारी र पोखरेल धेरै अवधि बारको कार्यसमितिबाट टाडिएका व्यक्तिहरु हुनुहुन्छ । तर, जिल्लाबारको कार्यसमितिमा नरहेपनि मानवअधिकार, अनुशासन लगायतका उपसमितिमा रहेर काम गर्नुभएको थियो ।
रामकृष्ण अधिकारी जिल्ला मानवअधिकार समन्वय समिति (पापड) को जिल्ला संयोजक हुनुहुनथ्यो । वीरेन्द्र क्याम्पसका सहप्राध्यापक पोखरेल मैयादेवी कन्या क्याम्पसका पूर्व प्रमुख हुनुहुन्छ । उपाध्यक्षमा भने ३ जनाको उम्मेदवारी परेको छ । पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम हुनुहुन्छ । पिएलए र डिएलएबाट क्रमश सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डीत र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी हुनुहुन्छ ।
८ सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । पिएलएले सदस्यमा ३ जनालाई पुनः उम्मेदवार बनाएको छ । डिएलएले सदस्यमा विगतको कार्यसमितिमा रहेका १ जना मात्रै उम्मेदवार बनाएको छ ।
पिएलएबाट कुलचन्द्र खनाल, जनकराज पौडेल, रामनाथ घिमिरे, कृष्णप्रसाद पन्त, अजयकुमार तामाङ, विकास गुरुङ, सपि मिया, कल्पना लोहनीले सदस्यमा उम्मेदवारी दिनुभएको छ । डिएलएका तर्फबाट तृष्णा न्यौपाने, शेखरनाथ पोखरेल, हरिहर दवाडी, बासुदेव आचार्य, सुरेन्द्रराज सुवेदी, प्रेमकुमार श्रेष्ठ, तीर्थराज पोखरेल, विष्णुहरि कोइरालाले सदस्यमा उम्मेदवारी दिनुभएको छ ।
पिएलएबाट अध्यक्षका उम्मेदवार रामकृष्ण अधिकारीले प्यानलनै जित्ने दाबी गर्दै जितको नजिक पुगिसकेको बताउनुभयो । डिएलएबाट अध्यक्षका उम्मेदवार डा. हरिहर पोखरेलले बार नेतृत्वमा दलीय आस्था नहुने भएकाले जित्ने दाबी गर्नुभयो ।
पिएलएबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका अधिकारीले जिल्ला बारमा लयर्स एकेडेमी स्थापना गरिने बताउनुभयो । डिएलएबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका पोखरेलले भलाई कोष स्थापना गर्ने बताउनुभयो ।





















