गोरखा / गोरखा देखि बारपाक सम्म सडक कालोपत्रेको जिम्मा पाएका निर्माण ब्यवशायी (ठेकेदार) ले काम नगर्दा वर्षौँ देखिको आयोजना अलपत्र छ । २०७२ मा दुई वर्ष भित्र काम सिध्याउने गरी सुरु भएका ती सडक खण्डहरुमा अहिले पनि कालोपत्रे हुन बाँकी छ । कालोपत्रे भएका कतिपय सडकमा पनि खाल्डाखुल्डी परिसकेका छन् ।
उक्त सडक ठेक्का लगाएको एघार किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले भने निर्माण ब्यवसायीका लागि यो नै अन्तिम पटक म्याद भएको जनाएको छ । कार्यबाहक आयोजना प्रमुख राजेशकुमार यादवले भने ‘अहिले चारवटै प्याकेजमा काम भएको छ, यो आर्थिक वर्षको जेठ मसान्तसम्म राङरुङ खोला सम्म कालोपत्रे सकिन्छ ।’ त्यस माथिको खण्ड अधिकांस ढलान गर्नुपर्ने, कमजोर, भिरालो जमिन भएकाले केही समस्या हुन सक्ने अनुमान उनको छ ।
पाँच वर्षसम्म निर्माणको काम सम्पन्न नगरेका निर्माण ब्यवसायीलाई पटक / पटक म्याद थपको अवसर मिल्यो । लामो समयदेखि म्याद ग्रजिएर काम नभएका योजनाहरु एक वर्षभित्र सिध्याउने गरी सरकारले गत वर्ष सबै ब्यवसायीलाई समय थप गरिदियो । गत चैत महिनादेखि कोरोनाका कारण काम प्रभावित बन्यो । त्यस यता ब्यवसायीहरुले छ महिना म्याद थप पाएका छन्, तर कामको गति भने अहिले पनि सुस्त छ ।
बाह्रकिलो – बारपाक सडकको पहिलो प्याकेज १० करोड ५९ लाखमा सम्झौता भयो । २०७२ साल मङ्सिर ३० गते सिध्याउने गरी २०७१ असार ३१ मा ठेक्का सम्झौता भएको थियो । पटक९पटक म्याद थप गर्दा नागार्जुन त्रिशुली जेभीले सडक निर्माण पूरा गर्न सकेन ।
१७ किलोमिटर देखि २२ सम्म दोस्रो खण्ड १५ करोड ३३ लाखमा कन्काई गोरखा जेभीले २०७४ असारमा ठेक्का सम्झौता गरेको हो । पाँच किलोमिट कालोपत्रे अधिकासं भएको छ । ८० प्रतिशत काम सकिएको छ । केही ठाउँमा ढलान बाँकी रहेको आयोजना प्रमुख यादबले बताए ।
२२ देखि ३० किलोमिटरको सडक कालोपत्रे गर्ने जिम्मा पाएको लोहनी एण्ड ब्रदर्श कन्ट्रक्सन प्रा. लि. ले २०७२ असारमा सम्झौता गर्यो । २०७४ असारमा सिध्याउनु पर्नेमा पटक/पटक म्याद थप भयो । ३० किलोमिटर देखि बारपाक अर्थात ४६ किलोमिटर सम्मको अन्तिम खण्डको ३५ करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । रसुवा सुर्य ईलाईट जेभीले जिम्मा लिएको उक्त सडक खण्डको म्याद पनि थपिएको हो ।
‘यी सबै खण्डमा अहिले काम भईरहेको छ’ आयोजना प्रमुख राजेशकुमार यादवले भने ‘हामीसँग जनशक्ति हुने हो र नियमित कार्यालयले निगरानी बढाउँदा काम भ्याउन असजिलो छैन ।’
बाह्रकिलो देखि बारपाक सम्मको सडक बिभिन्न खण्डमा स्तरोन्नति भईरहेको छ । बाह्रकिलोदेखि डेढ किलोमिटर अहिले कालोपत्रे भईरहेको छ । त्यहाँदेखि मसाने ठाँटीसम्मको साँढे दुई किलोमिटर ठेक्का भईसक्यो तर कम्पनी छनौटको प्रक्रियामा रहेको आयोजना प्रमुख यादवले बताए ।
त्यस उता करिब १२ किलोमिटर मध्यपहाडी राजमार्गमा उक्त सडक पर्छ ।
मध्यपहाडीले काम गर्ने खण्ड बाहेकमा अहिले काम भईरहेको आयोजना कार्यालयले जनाएको छ ।(दरौदी पत्रिकाबाट)





















