काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई भेट्न गौतम मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएका कारण उनी शीतल निवास पुगेका हुन् । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी गौतमका प्रेस संयोजक सुवेदीले जानकारी दिए ।
यसअघि पनि पार्टी एकता जोगाउन महत्वपूर्ण भूमिका उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसपटक पनि पार्टी एकताको रक्षाका लागि भूमिका खेल्न गौतमलाई आग्रह गरेकी हुन् ।
नेकपामा पछिल्लो समय आन्तरिक विवाद चुलिँदै गएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले अब सँगै जान नसकिने भन्दै औपचारिक रुपमै पार्टी फुटाउन प्रस्ताव गरेको भन्दै गत आइतबार आफ्नो निवासमा बोलाएर ६ जना सचिवालय सदस्यलाई ब्रिफिङ गरेका थिए ।
आइतबार प्रचण्ड निवासमा उपाध्यक्ष गौतम पनि सहभागी भएका थिए । नेकपाको ९ सदस्यीय सचिवालयमा अहिले प्रचण्ड–नेपाल समूह स्पष्ट बहुमतमा छ । ओलीले बहुमत जुटाउने अवस्थामा गौतम निर्णायक मानिन्छन् ।





















