काठमाडौं / कोरोना बीमा गरेकालाई संक्रमण पुष्टि भएपछि बीमा लेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम एक हप्ताभित्रै दिन कम्पनीहरुलाई निर्देशन दिइएको छ।
भुक्तानी दाबी परेका बीमितलाई सम्बन्धित कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा आज बसेको बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ।
यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ।
अर्थमन्त्री पौडेलले बीमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए।





















