चितवन / भरतपुर महानगरपालिका भित्र रहेका दुई सामुदायिक वनमा जडिबुटी र फलफुलका विरुवा रोपिएको छ । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर भरतपुर ११ को नवजागृती सामुदायिक वन र भरतपुर १२ को रामवेल सामुदायिक वनमा बृक्षारोपण गरिएको हो । माननिय प्रदेश सांसद विजय सुवेदीले नवजागृती सामुदायीक वनमा एभोग्राडो र रामवेल सामुदायीक वनमा वेलको विरुवा रोपेर वृक्षारोपण शुभारम्भ गरे । सांसद सुवेदीको नेतृत्वमा भरतपुर एक बगैचा अभियान संचालन भइरहेको छ ।

सामुदायिक वनलाई उत्पादनसंग जोड्न फलफुल र जडिबुटीका विरुवा रोपिएको सांसद सुवेदीले बताए । उनले कुनैपनि जमिन खाली नहुने गरी फलफुलका विरुवा रोप्ने अभियान संचालन गरिरहेको जानकारी दिए । ‘आजदेखि शुरु भएको बृक्षारोपण अभियान यो महिनासम्म जारी रहन्छ, उनले भने’,भरतपुरका ७ वडामा ५० हजार बढि बिरुवा रोप्दैछौं । उनले आफुले परिकल्पना गरेको भरतपुर एक बगैचाको प्रारम्भिक चरणका काम भइरहेको र जंगलमा जडिबुटी र घरमा फलफलुका विरुवा रोपेर भरतपुरलाई एक सुन्दर बगैचाको रुपमा परिणत गर्नुपर्ने उनको जोड छ । रोपिएका विरुवाको संरक्षणका लागि पनि निरन्तर अभियान चलाइने उनले बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले सामुदायीक वनमा रोपिएका बहुरुपी विरुवाको संरक्षणमा जोड दिए । उनले एकदिन मात्र नभइ निरन्तर बृक्षारोपण र संरक्षणका कार्यक्रम गरिनुपर्ने बताए । संकटको समयमा पनि सामाजिक दुरी कायम गरेर नियमित कामहरु गरिरहेको भट्टराइले बताए ।

वनमा हर्रौ, बर्रो, अमला, चिउरी, एभोग्राडो, अगररुड, निम, वेल, गुर्जो, अम्बा, आँप लगायतका विरुवा रोपिएको छ । सामुदायीक वनको आयोजना, वे गु्रपको समन्वय र डिभिजन वन कार्यालयको सहयोगमा बृक्षारोप गरिएको हो ।

कार्यक्रममा डिभिजन बन कार्यलय चितवनका प्रमुख पदम नेपाल , भरतपुर ११ का वडाध्यक्ष बाबुराम अधिकारी, भरतपुर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवा, रामवेल सामुदायिक वनका अध्यक्ष वेदबहादुर थापा , नेकपा चितवनका नेता तेजेन्द्र खड्का, नवजागृती सामुदायीक वनको सचिव सारदा पौडेल , भरतपुर महानगर कमिटी सचिव इश्वर सापकोटा सुमन, ११ नम्वर वडा कमिटी अध्यक्ष प्रकाश आचार्य, वे गु्रपका संयोजक भोजनारायण कँडेल लगायत राजनितिक दल, टोल विकास संस्था र सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।






















