काठमाडौं / केही समय अघि युद्धविराम भएको सत्तारुढ दल नेकपाको विवाद पुन चुलिएको छ । मन्त्रिपरिषद् विस्तार, राजदूत नियुक्ति, कर्णाली प्रदेश विवादका कारण सत्तारुढ दलमा विभाजनको खतरा देखिएको हो ।
पार्टीका शीर्ष नेताहरुका अनुसार नै पार्टी एकता जटिल मोडमा पुगेको हो उपप्रधानमन्त्रीसमेत रहेका सचिवलाय सदस्य ईश्वर पोखरेलले नेकपामा विभाजनको खतरा बढेको जनाएका छन् ।
उनले भनेका छन्,‘एकताका वेला गरिएको सहमति विपरित पूर्व समूह भित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो,’ पोखरेलले भनेका छन्, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं। व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं ।’
त्यस्तै पार्टी महासचिव विष्णु पौडेलले पनि पार्टी एकता गम्भीर मोडमा पुगेकोले आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका थिए ।
‘ यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु, उनले भनेका थिए ।
त्यस्तै पार्टीका प्रवक्ता समेत रहेका अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी फुट कदापी उचित हुन नसक्ने बताएका छन् ।
श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत, पसिना लगाएर हासिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एव। कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जना देशविरुद्ध हुन्छ ।’
नेता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा खुला छलफल गर्न पनि प्रस्ताव गरेका छन् ।
‘पार्टी भित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवम् सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएको स्पष्ट मतभेद देखा परिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाका निम्त सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवम् निर्णयको पालना र कार्यान्वयन,’ श्रेष्ठले भनेका छन्, ‘अहंकार, आवेश र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन ।’
त्यस्तै हिजो प्रचण्ड निवासमा भेला भएका वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापासँगको छलफलका क्रममा अध्यक्ष प्रचण्डले आफूसँग अर्का अध्यक्ष ओलीले सहमति गरेर पार्टी फुटाउ भनेको भन्दै ब्रिफिङ गरेका थिए ।
त्यस अघि ओली समूहका नेताहरुले नेकपाका नेता प्रदीप नेपालसँग भेट गरि नेता नेपाललाई पूर्व एमालेहरु एक ठाउँमा भेला हुने वतावरण मिलाउन आग्रह गरेका थिए । नेता नेपालले उक्त कुरालाई अस्वीकार गरेका छन् ।
पूर्व एमालेहरु एक ठाउँमा उभिनका लागि नेपाललाई प्रचण्ड समूह छोड्न आग्रह गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।





















