काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति अन्तर्गत गठन भइसकेको विभागबारे कुनै पनि छलफल गर्न आफू तयार नरहेको बताएका छन्।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको वर्तमान र पूर्व पदाधिकारीको बैठकमा सभापति देउवाले संस्थापन इतर समूहलाई यस्तो जवाफ फर्काएका हुन्।
‘विभागका प्रमुखहरुलाई ब्याक गर्ने, गठन भइसकेको विभाग खारेज गर्ने त कुरै छैन,’ देउवालाई उद्धृत गर्दै उनी निकट एक विभागका प्रमुखले भने, ‘ब्याक हुने कुनै छैन।’
‘जानाजान कोही खाडलमा फस्न चाहँदैन नी। विभाग खारेज गरेपछि सभापतिले के गर्ने? विभागहरु विधानसम्मत नै गठन भएका हुन्,’ उनले भने, ‘सहमतिको नाममा अनेक बखेडा झिकेकैले अहिले पार्टी यो हालतमा आयो।’
उनले सहमति भनेर भागबण्डा गर्नका लागि सभापतिले हार्दिकता देखाएकोले नै पार्टी बिग्रिएको जिकिर गर्दै यसको सबै जिम्मा वरिष्ठ नेता रामचन्द्र पौडेलले लिनुपर्ने पनि बताए।





















