पर्सा / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारा लाई कारबाहीको माग गर्दै हिजो पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् ।
मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका हुन् । यही कात्तिक ६ गते सो गाँउपालिकाको बहुअर्वाभाठामा भएको सपथग्रहण कार्यक्रममा विवादका क्रममा चौरसियामाथि आक्रमण गर्ने घटनाका योजनाकारलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै मृतकका आफन्त र कार्यकर्ताले आन्दोलन गरेका हुन् ।
मृतकका परिवारले किटानी जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । शवलाई पाँच दिनदेखि वीरगन्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।





















