वीरगन्ज / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा पूर्व सभासद नै संलग्न रहेको आरोप लागेको छ ।
तत्कालीन नेकपा एमालेबाट प्रथम संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्ब्र ३ बाट निर्वाचित भएका राजकुमार गुप्तामाथि मुकेशको हत्या गरेको आरोप लागेको हो । पार्टीका केन्द्रीय अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका भनिएका गुप्ता माथि तत्कालीन नेकपा माओवादी केन्द्र मुकेशको हत्या गरेको आरोप लागेको हो ।
पर्सामा ओलीइतर समूह केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरले पनि मुकेशको हत्या भएको घटनामा गुप्ताको प्रत्यक्ष संलग्नता भएको आरोप लगाएको छ ।
नेकपाका नेता गोपाल ठाकुरले सामाजिक सञ्जालमा लेख्दै पूर्व सभासद गुप्ताको डिजाइनमा पर्साको विन्दवासिनीमा बिहीबार पार्टी कार्यक्रममा आक्रमण गरिएको र उक्त आक्रमणमा पूर्व माओवादी नेता मुकेश चौरसियाको लाठी प्रहार गरी घाइते बनाइ हत्या गरिएको दाबी गरेका छन् ।
नेकपाको विन्दबासिनी गाउँपालिका कमिटीका अध्यक्ष र सचिव पदको शपथग्रहण कार्यक्रम चलिरहँदा आक्रमण भएको थियो । ओली पक्षका भनिएका नेकपा कार्यकर्ताले प्रचण्ड–नेपाल पक्षको भनिएको कार्यक्रममा आक्रमण गरेका थिए ।
आक्रमणमा करिब ८ जना घाइते भएका जनाइएको छ । घाइते मध्ये पूर्व माओवादी नेता चौरसिया मृत्यु भएको हो ।





















