काठमाडौंं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आउँदो असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार शनिबारको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित गरिएको हो ।
आज आईतबार असार १४ गते मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले २ दिन बैठक नराखेर १६ गतेका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शनिबारको बैठकमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन् ।
बैठकमा बोल्ने स्थायी समिति सदस्य वार्ताको माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा एकमत रहेको नेता रघुजी पन्तले जानकारी दिए । उनले वार्ताका लागि नेपाल सरकारले अधिकतम पहल गर्नुपर्नेमा जोड दिएको पनि जानकारी दिए ।
शनिबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भए पनि स्वास्थ्यको कारण देखाउँदै हिँडेको श्रेष्ठले जानकारी दिए । यसअघि शुक्रबारको बैठकमा पनि ओली सहभागी थिएनन् ।





















