चितवन / चितवनमा पनि सलह किरा भित्रिएको छ । आज खैरहनी नगरपालिका ८ पर्सामा सलह किरा देखिएको स्थानिय समाजसेवी मुरलीप्रसाद गजुरेलले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र चितवनले पनि चितवन र मकवानपुरमा सलह किरा भित्रिएको भन्दै सतर्क रहन आग्रह गरेको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले कृषकको खेतवारीमा भएको खडावालीमा ठूलो मात्रामा क्षति पुर्याउन सक्ने भएकाले भविष्यमा कृषि उत्पादनमा ठूलो क्षति हुन सक्दछ जसले गर्दा खाद्य सुरक्षामा गम्भीर चुनौती पैदा हुने देखिएको बताउनुभयो ।
ठूलो झुण्डमा रहने र व्यापक रुपमा क्षति गर्ने भएको हुँदा यस किराको नियन्त्रणका लागि नियन्त्रणका विधिहरुमा सामूहिक रुपमा लाग्नका लागि कृषि ज्ञान केन्द्र चितवनले हार्दिक अपिल गरेको छ ।
यस्तो छ कृषि ज्ञान केन्द्र चितवनको आग्रह
कृषक दिदीवहिनी दाजुभाईहरुमा अनुरोध –
मिति २०७७ असार १३ गते मकवानपुर र चितवनमा सलह किराको प्रवेश भएको कारणले कृषकको खेतवारीमा भएको खडावालीमा ठूलो मात्रामा क्षति पुर्याउन सक्ने भएकाले भविष्यमा कृषि उत्पादनमा ठूलो क्षति हुन सक्दछ जसले गर्दा खाद्य सुरक्षामा गम्भीर चुनौती पैदा हुने देखिन्छ ।
ठूलो झुण्डमा रहने र व्यापक रुपमा क्षति गर्ने भएको हुँदा यस किराको नियन्त्रणका लागि देहाय अनुसारका नियन्त्रणका विधिहरुमा सामूहिक रुपमा पहल हुन कृषि ज्ञान केन्द्र चितवन हार्दिक अपिल गर्दछ ।
१. सलह देखा परेका स्थानहरुमा आगो वाल्ने तथा धुँवाउने
२. विभिन्न माध्यमहरुवाट ठूला ठूला आवाज निकालि किराहरु धपाउने
३. लामो डीरीले खेतको वारपारवाट तानी बालीका वोटहरु हल्लाईदिने
४. हाँस माकुरा छेपारा तथा चराहरुले सलह खाने भएकाले उनीहरुलाई उपयुक्त वातावरण वनाईदिने
५. सलह उडनु अगावै विहान सवेरै बालीनाली खानु भन्दा अगाडीनै सलहलाई धपाउने
६. किराहरुलाई समातेर पशुपंक्षी तथा मत्स्य दानाको रुपमा समेत प्रयोग गर्न सकिने
७. बालीनालीको पातमा जैविक विषादी तथा अन्य गन्ध आउने वा टासिने वस्तुको प्रयोग गर्ने
८. किराहरुलाई झुल र जालमा फसाउने
९. साथै विषादी प्रयोग गर्नुपरेमा सामूहिक तथा सन्तुलित रुपमा कुनै पनि सम्पर्क किटनाशक विषादी प्राविधिकको सल्लाह अनुसार छर्कने
यसका अलावा धान रोप्ने सिजन चलिरहेकाले धानको नर्सरीलाई हरसम्भव सुरक्षित राख्नुहुन विशेष अनुरोध गरिन्छ । थप जानकारीका लागि कृषि ज्ञान केन्द्र चितवन (सम्पर्क नं ९८६१३९७२५२( बा सं अ) तथा स्थानीय तहका कृषि शाखाहरुमा सम्पर्क राख्नुहुन अनुरोध छ ।





















