काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठ लगत्तै सञ्चालन गर्ने भएको छ । छठ लगत्तै परीक्षा सञ्चालन गर्न कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
कार्यविधि अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने तयारी छ । प्रयोगात्मक परीक्षा भने पहिले जस्तै यथावत् रहनेछ । विद्यालयले सञ्चालन गरेको प्रयोगात्मक परीक्षाको अंक बोर्डमा पठाउनुपर्नेछ । ४० प्रतिशतको छोटो परीक्षाका लागि बोर्डले देशभर होम सेन्टर कायम गरेर एकै पटक सञ्चालन गर्ने अर्यालले जानकारी दिए ।
‘मन्त्रिपरिषद्ले कक्षा १२ को परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ, शिक्षा मन्त्रालयले कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्नु भन्यो,’ उनले भने, ‘परीक्षा सञ्चालनको कार्यविधि सहित दसैंअघि नै समयतालिका प्रकाशन गर्ने तयारीमा छौं ।
बोर्डले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै प्रत्येक कोठामा निश्चित परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्ने जनाएको छ । परीक्षा सञ्चालनका लागि बोर्डले प्रश्नपत्र छपाएर जिल्लाजिल्लामा पठाइसकेको थियो । अब छोटो परीक्षाका लागि नयाँ प्रश्नपत्र छपाएर परीक्षा केन्द्रमा पठाइनेछ । प्रश्नपत्र छपाउन ढिलाइ भए अनलाइनमार्फत पठाउने कार्यविधिमा उल्लेख छ ।
विद्यार्थीको हाजिरी, विद्यालयले सञ्चालन गरेको परीक्षा, गृहकार्य, अतिरिक्त क्रियाकलापका आधारमा आन्तरिक मूल्यांकन गरिनेछ ।





















