काठमाडौं / सरकारले देशभरका सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछोड्न निर्देशन दिएको छ।
सोमबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेकाले नियन्त्रण र रोकथाममा जुट्नका लागि यस्तो निर्णय गरिएको जनाएको छ।
प्रवक्ता चक्रबहादुर बुढाले नजिकिँदै गरेको दशैं, तिहार, छठ, नेपाल सम्बत लगायत पर्वमा आवतजावत बढ्दा संक्रमणको जोखिम पनि बढ्नेतर्फ ख्याल गर्दै मन्त्रालयले प्रजिअहरुलाई जिल्ला नछोड्न भनेका हुन्। गृहले कोरोना जोखिम नियन्त्रणका लागि समन्वयात्मक गरेर हरसम्भव उपाय लगाउन पनि भनेको छ।
चाडपर्वको मौकामा कृत्रिम अभाव सिर्जना, कालोबजारी, मिसावट र गुणस्तरहीन सामान विक्री वितरण हुन नदिन बजार अनुगमन तीव्र पार्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
सरकारले सर्वसाधरणलाई कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य प्रोटोकल पालना गर्न पनि भनेको छ। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन पनि नागरिकलाई मन्त्रालयले अपिल गरेको छ।
चाडपर्वमा झै-झगडा, चोरी, लुटपाट, डकैती जस्ता अवाञ्छित गतिविधि हुने भएकाले सुरक्षाको व्यवस्था मिलाउन पनि गृहले सुरक्षा निकायलाई निर्देशन दिएको छ।





















