काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं भत्ता वापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
देश गम्भीर आर्थिक संकटमा रहेका बेला सांसदहरुले भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि नेकपाले उक्त निर्णय लिएको हो। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सांसदहरुले लिने दशैं खर्च वापदको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
संसदीय दलका उपनेता सुवास नेम्वाङले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए। जनस्तरबाट चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले सोमबार सरकारी निवास बालुवाटारमा कार्यकारी अध्यक्ष प्रचण्ड, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्षसँग छलफल गरेर यो निर्णय गरेका हुन्।
सत्तारुढ नेकपाका प्रतिनिधिसभामा एक सय ७४ जना र राष्ट्रियसभामा ४६ जना सहित संघीय संसदमा २ सय २० जना सांसद रहेका छन्। यसै बीच सोमबारै नेपाली कांग्रेसले पनि दशैं भत्ताको रकम नलिने निर्णय गरिसकेको छ।





















