काठमाडौं / कोरोना संक्रमितलाई पनि सर्वोच्च अदालतले लोकसेवा आयोगको परीक्षा दिने व्यवस्था मिलाउन आदेश दिएको छ।
यस अघि आयोगले अब हुने परीक्षामा कोरोना संक्रमित सहभागी हुन नपाउने मापदण्ड सार्वजनिक गरेको थियो। लोकसेवाको उक्त निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चले आयोगका नाममा परीक्षामा सहभागी नगराउने गरी जारी गरेको मापदण्ड कार्यान्वयन नगर्न अन्तरिक आदेश जारी गरेको हो।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न लोकसेवा आयोगलाई अन्तरिम आदेश दिएको हो।
त्यस्तै, सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्न, स्वघोषित संक्रमित व्यक्तिहरुलाई उनीहरुको गोपनियता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्था सहित परीक्षा सञ्चालन गर्न व्यवस्था गर्न भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम आन्तरिम आदेश जारी गरिएको छ।
‘कोभिड-१९ संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भन्ने लोकसेवा आयोगको स्वास्थ्य मापदण्ड कार्यान्वयन नगरी परीक्षार्थीलाई परीक्षामा सहभागी हुने वातावरण बनाउनू’, सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ।
सर्वोच्चले अन्तरिम आदेशमार्फत बर्षौ देखी मेहनत गरेर बसेकालाई संक्रमित भएकै कारण अवसरबाट बन्चित बन्चितिकरणबाट रोकेर न्याय दिएको हो।























