चितवन / चितवनको भरतपुर महानगरपालिकामा ६ लेन सडक बनाउन आज ठेक्का सम्झौता भएको छ ।
भरतपुरलाई मेयर रेनु दाहालले स्र्माट सिटि अवधारण ल्याएसगैँ ६ लेन सडक विस्तार गर्ने काम थालिएको थियो । झण्डै दुई बर्षदेखिको मिहिनेतको फल पहिलो चरणमा सफल भएको छ-मेयर रेनु दाहालले भनिन्, भरतपुर महानगरको विशेष प्रस्तावमा भौतिक पूर्वाधार मन्त्रालयको गौरवको योजना अन्तर्गत बहुप्रतिक्षित ६ लेन सडक (गोन्द्राङदेखि पुल्चोक सम्म) आज ठेक्का सम्झौता भएको छ।
ठेक्का सम्झौता भएसगैँ पुल्चोकदेखि गोन्द्राङसम्मको सडक ६ लेनको बन्ने निश्चित समेत भएको छ। हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्डलाई ६ लेन बनाउन लागिएको मेयर रेनु दाहालले जानकारी दिईन् । जसका लागि सडक डिभिजन कार्यालय चितवनका प्रमुख ई.कृष्ण अधिकारी र इण्डो सगुन जेभी सहदेव खड्का विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सडक विस्तारका लागि सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको छ । १६ कम्पनी मध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । १ अर्बको लागतमा सडक विस्तार हुनेछ ।
सडक सीमा ५० मिटरको चौडाइँलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–बुटवल सडक खण्डकै आधारमा यो सडक निर्माण गरिनेछ । सडकको दुबैतर्फ फुटपाथ, ढल, सर्भिस लेन छुट्याइएको छ । यस्तै छुट्टै बोलपत्रमार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सडकखण्डमा विद्युत् अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ ।
पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताईन् । अबको केहि दिनभित्रै शिलान्याससहित सडक निर्माण कार्यको शुरूवात हुने मेयर दाहालले जानकारी गराईन् ।
![]()





















