गोरखा / जिल्ला प्रशाशन कार्यलय गोरखाले भेला, जमघट नगरी चाडपर्व मनाउन आग्रह गरको छ ।
पसलहरुमा पनि दिनानुदिन भीडभाड बढिरहेकाले पूर्वनिर्धारित मापदण्ड अनिबार्य अपनाउन भनिएको छ । चाडपर्वमा घुमघाम, जमघट, भेला, राम रमिता नगरी घरमै बसेर मनाउन पनि सूचित गरिएको छ ।
बिहिबार साँझ सूचना जारी गर्दै प्रशासन कार्यालयले कोभिड १९ को जोखिम बढिरहेका बेला पार्टी प्रवेशका नाममा भेला तथा सभा नगर्न नगराउन सूचना जारी गरेको हो ।
सो सूचनामा जिल्ला प्रशासन कार्यालयले खेलकुद कार्यक्रम, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम नगर्न निर्देशन जारी गरेको छ ।
‘जिल्लामा क्रियाशील राजनीतिक दलहरुले आमभेला, कार्यकर्ता भेला, पार्टी प्रवेशको नाममा धेरै जनसमुदाय भेटघाट, भिडभाड हुने कार्यक्रम नगर्नु, नगराउनु हुन सूचित गरिन्छ’, सूचनामा भनिएको छ, ‘उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, बिभिन्न सामाजिक संघसंस्था, युवा समूह, खेलकुद क्लव, आमा समूह, वडा सञ्जालहरुले बिगतका बर्षमा झैँ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तथा खेलकुद गतिविधि नगर्न नगराउनु हुन सूचित गरिन्छ ।’
त्यस्तै सूचनामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेको सुरक्षा मापदण्ड अपनाएर मात्र गतिविधि गर्न सार्वजनिक सवारी व्यवसायी तथा यात्रुहरुलाई आग्रह गरिएको छ ।





















