प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ गोरखाको समन्वयमा भएको अन्तक्रिया कार्यक्रममा सञ्चार माध्यमले भोग्नुपरेका समस्या, कोभिडको प्रभाव, ध्यान दिनुपर्ने पक्ष, सञ्चारगृह र पत्रकारलाई परेका समस्याका बारेमा छलफल भएको थियो ।
स्थानीय तहले सार्वजनिक गर्नुपर्ने सुचना सञ्चार माध्यमबाट नगरी सामाजिक सञ्जालबाट गर्ने र त्यसैलाई आधिकारी मान्ने गरेको विषय आलोचित बनेको हो ।
सरकारी कार्यालय वा गैरसरकारी कार्यालयले सार्वजनिक गर्नुपर्ने सूचना पत्रपत्रिका, रेडियो, अनलाईन, टेलिभिजनबाटै सार्वजनिक गर्नुपर्ने प्रेस काउन्सिल नेपालले स्पष्ट पारेको छ ।
प्रेस काउन्सिल र पत्रकारबीच गोरखा सदरमुकाममा बुधवार भएको अन्तरक्रियामा गोरखाका पत्रकारहरुले अहिले अधिकांश कार्यालयले सूचना फेसबुकमा मात्रै पोष्ट गर्ने गरेको, सञ्चारका लागि आएको बजेट फ्रिज पठाएको गुनासो गरेका थिए ।
फेसबुक मेनस्ट्रिमका सञ्चार माध्यम नभई र सार्वजनिक सूचना, खरिद बिक्री लगायत जनताको चासोका विषयलाई सामाजिक सञ्जालको मात्रै आधार बनाउनुले सम्बन्धित कार्यालयको परदर्शितामा प्रश्न उठाउन सकिने काउन्सिलका प्रवक्ता एवं बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले बताए ।
काउन्सिलका प्रवक्ता एवं बरिष्ठ प्रशासकीय अधिकृत खनालले कोभिडको प्रभावका कारण पत्रपत्रिकालाई परेको समस्याबारे काउन्सिल जानकार रहेको र नीतिगत निर्णयका लागि पहल गरिरहेको बताए ।साथै उनले सञ्चारगृहका कारण सञ्चारकर्मीलाई परेको समस्याबारेमा काउन्सिलमा जानकारी गराउन पनि अनुरोध गरे ।पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य चेतनाथ धमलाले काउन्सिल अविभावकत्व ग्रहण गर्ने संस्था भएकाले पत्रकारहरुलाई परेको समस्यामा संगसंगै अघि बढ्ने बताए ।





















