काठमाडौं / अब मोबाइलको सिमकार्ड लिन सम्बन्धित ग्राहक आफैं उपस्थित हुनपर्ने भएको छ । सक्कल परिचयपत्र लिएर आफैं उपस्थित भएका व्यक्तिलाई मात्र सिमकार्ड दिन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । आफैं उपस्थित हुन नसकेको अवस्थामा भने कानुन अनुसारको वारेसनामा वा अख्तियारनामा आवश्यक पर्नेछ । यी प्रमाण लिएर नगए सेवाप्रदायकहरुले सिम दिने छैनन् ।
सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी ग्राहकले भरेको फारम जाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्रधिकरणले जनाएको छ । अर्को व्यक्तिको परिचयपत्रका आधारमा अनाधिकृत रुपमा अरु व्यक्तिको मोबाइल नम्बर प्रयोग हुँदा बैंकिङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिल सेवा तथा डाटामा पहुँच पुग्ने खतरा भएकाले यस्तो व्यवस्था गरिएको प्राधिकरणको भनाई छ ।





















