काठमाडौं / बितेको २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। यो सँगै नेपालमा हाल सम्म संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा १६ सय ८४ जना नयाँ संक्रमित भेटिएको बताएका छन्। गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै १२ सय ९६ जना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा २ सय ९३ र भक्तपुरमा ९५ जना नयाँ संक्रमित भेटिएका हुन्।
यो सहित देशभर २५ हजार ७ संक्रिय संक्रमित छन्। गौतमका अनुसार बुधबार ११ सय २६ जनाले कोरोना जितेका छन्। योसहित कोरोना जित्नेको संख्या ६८ हजार ६६८ पुगेको छ। प्रवक्ता गौतमका अनुसार आजको पिसिआर संख्या १४ हजार २०९ रहेको छ।
नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ। ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार उपत्यकामा दुई महिला सहित ७ जनाको मृत्यु भएको छ। काठमाडौंमा ६६ र ७२ वर्षीया महिलाको मृत्यु भएको छ।
यस्तै ४५ वर्षीय पुरुष, ५३ वर्षीय पुरुष, ६४ वर्षीय पुरुष र ६९ वर्षिय पुरुषको मृत्यु भएको छ। यस्तै ललितपुरमा ४६ वर्षीय, मोरङमा ४० र ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, चितवनमा ४६ वर्षीय, रुपन्देहीमा ५५ वर्षीय र नवलपरासीमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ।
सिराहामा ५० वर्षीया महिला रौतहटमा ७२ र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ।





















