काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ। भोलि दिउसो ४ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए।
४ बजे वस्ने सचिवालय बैठकमा रिक्त रहेका मन्त्री पदमा नियुक्ती बारे छलफल हुने र भोली वा बुधवार मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ। भोलिको नेकपा बैठकले त्यसलाई अन्तिम रुप दिने छ।
हाल ३ वटा मन्त्रालय रिक्त छन्। अर्थमन्त्री पदमा नेकपा महासचिव तथा सांसद बिष्णु पौडेललाई नियुक्ति गर्ने सम्भावना छ। यस्तै, नेकपाकै अर्का नेता जनार्दन शर्मा पनि सरकारमा सामेल हुने बुझिएको छ।
तर, शर्माले कुन मन्त्रालय सम्हाल्छन् भन्ने प्रष्ट छैन। उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।सञ्चार भन्दा उनले गृहको नेतृत्व गर्ने इच्छा देखाएको बताइएको छ।
यस्तै, सहरी विकास मन्त्रीमा नेता सुरेन्द्र पाण्डेको नाम पक्का पक्की जस्तै देखिएको स्रोतले जनाएको छ।
यसबारे नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबारको भेटमा सहमति बनिसकेको स्रोतले जनायो। भोलि साँझ सम्ममा मन्त्रि परिषद्लाई पूर्णता दिने तयारी छ।





















