काठमाडौं । तपाईँ हामीले एक महिलाले तीन वा चार सम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएको हो ।
उनले आज अस्पतालमा शल्यक्रिया मार्फत पाँच शिशुलाई जन्माउनुभएको अस्पतालका निर्देशक डा. सङ्गीता कौशल मिश्रले जानकारी दिए । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । “आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनु परेको छैन,” उनले भने, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।”
डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा .मिश्रका अनुसार यस अघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।
अस्पतालका स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा .मुकेश कुमारले शल्यक्रिया गरेका थिए ।





















