काठमाडौं / प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गर्ने क्रममा कुर्सी तोडफोड गरेका छन् ।
राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ । सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको थियो ।
पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् ।
शुरुमै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले नाराबाजी गरेका हुन् । बैठकमा संसदीय दलका नेता कनौडियाले संसदीय मूल्यमान्यता विपरीत राजधानीको प्रस्ताव आएको जनाउँदै यो आफ्नो दललाई मान्य नहुने बताए । उनले रुपन्देहीबाट राजधानी सार्नुपर्ने औचित्य प्रमाणित गर्न सरकारलाई चुनौती पनि दिए।
“राजधानी जहाँ भए पनि त्यसको औचित्य प्रमाणित गर्नुपर्छ । राजधानी खेलठट्टाको विषय होइन”, उनले भने, “महत्वपूर्ण संरचना हुँदाहुँदै पनि कुनै एउटा दलको नेताकै कारण राजधानी तोकिनु गलत हो ”, उनले भने ।
संसदीय दलका नेता कनौडियाले प्रदेशको राजधानीको नामकरण र केन्द्र तोक्न विज्ञको समिति बनाइए पनि समितिको सुझाव नसुनिकन राजधानी तोकिनु मान्य नभएको धारणा राखे । उनले आफ्नो भेगीय राजनीतिक स्वार्थभन्दा माथि उठेर राजनीतिक सहमतिका आधारमा अघि बढ्न मुख्यमन्त्रीलाई सुझाव दिए।
रुपन्देहीमै अन्तरराष्ट्रिय विमानस्थललगायत महत्वपूर्ण संरचना हुँदाहुँदै राजधानी सार्ने विषय उपयुक्त नभएको जनाउँदै उनले यसलाई सच्चाउनुपर्ने बताए। ‘गाउँपालिका र नगरपालिकाको भवन अहिलेसम्म बन्न सकेका छ्रैनन । प्रदेशका संरचना कहिले बन्छन् ?’ उनले प्रश्न गरे ।





















