काठमाडौं / पछिल्लो समय कोरोना संक्रमणका घटना लगातार वृद्धि भइरहेको छ। दशैं तिहार नजिकिदै गर्दा कोरोना संक्रमण गाँउ गाँउमा पुग्ने र झन् स्थिती भयावह हुने जोखिम बढेको छ।
यसै बीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यही स्थानमा रहेर दशैं मनाउन आग्रह गरेको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण बढिरहेकाले दशैंका लागि आवत जावत नगर्न अपील गरेका हुन।
मन्त्रालयले कोभिडको संक्रमण तीब्र गतिमा बढिरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो। प्रवक्ता डा. गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गरे।
उनले स्वास्थ्य मापदण्डमा कडाई गर्दै जरिवाना गर्ने गरी प्रस्ताव गरिएको जानकारी समेत दिए।
दशैं नजिकिए सँगै शहरबाट गाउँ जानेको संख्या पनि बढेको छ। यो सँगै गाउँगाउँमा कोरोना संक्रमित बढ्ने भन्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन्।





















