गोरखा / बिभिन्न बैकल्पिक विधिद्वारा पठनपाठन भइरहेका जिल्लाका विद्यालयहरुले आइतबार देखि प्रत्यक्ष पठन विधि अनुसार पठनपाठन गराउने भएका छन् ।
नगर शिक्षा कार्यालयबाट अनुमपति पाएपछि बिगत छ महिना देखि बन्द भएका बोर्डिङ स्कूलहरु पनि आइतबारदेखि खुल्ने प्याब्सन गोरखाका अध्यक्ष सिताराम तिवारीले जानकारी दिए ।
गोरखा डिसिसिएमसीको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र तथा कमाण्डपोष्टको संयुक्त बैठकले विभिन्न विधिबाट पठनपाठन गर्न अनुमति दिएपछि गोरखाका चारसय १९ वटा सामुदायिक र ४२ वटा निजी विद्यालयमा पठनपाठन सञ्चालन हुने भएको हो ।
डिसिसिएमसीको अनुमति पाएपछि पालिकाहरुले विद्यालय सञ्चालन गर्न पत्राचार गरेका छन् । ‘सबै विद्यालयहरुले पठनपाठन सञ्चालन गर्न तम्सिरहेको अबस्थामा नगरशिक्षा समितिको बैठकले पठनपाठन सञ्चालन गर्न डिसिसीएमसीसँग अनुमति मागेको थियो’, गोरखा नगरपालिकाको शिक्षा शाखाका ध्रुव अर्यालले भने, ‘डिसिसिएमसीको बिहिबारको बैठकबाट अनुमति पाएपछि स्वास्थ्य सुरक्षा प्रवन्ध गर्न पाँचवुँदे कार्यविधि तोकेर हामीले विद्यालयहरुलाई पठनपाठन सुचारु गर्न पत्राचार गरेका छौँ ।’
एउटा कक्षामा २० जना भन्दा कम विद्यार्थी राख्ने, सो भन्दा धेरै संख्यामा विद्यार्थी भए तीन सिफ्टसम्म पढाउन सकिने, एक सिफ्ट तीन घण्टा भन्दा कम समयको हुनुपर्ने लगायतका व्यवस्था नगरशिक्षा कार्यालयले गरेको अर्यालले जानकारी दिए ।





















