काठमाडौं / सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रा. डा .केसीले विगतदेखि उठाउँदै आएका धेरै माग पूरा भएर कार्यान्वयनमा गइसकेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले चिकित्सा शिक्षासम्बन्धी ऐन र उक्त ऐनअनुसार उच्चस्तरीय आयोग बनेर काम शुरु भइसकेको र सातै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खुल्ने विषय पनि सम्बोधन भइसकेको उल्लेख गरे।
सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा रहेका अवस्थामा अनशन, धर्ना, हडताल र सत्याग्रह सुहाउँदो विषय नभएको बताउँदै उनले केही विषय बाँकी भए पछि छलफल गर्न सकिने धारणा व्यक्त गरे । मन्त्री ज्ञवालीले प्रा .डा. केसी र उनका साथीहरुलाई अहिले अनशन फिर्ता लिई कोरोना विरुद्धको लडाइँमा होमिन आग्रह समेत गरे ।





















