काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गर्नुभएको छ ।
उहाँले ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा यस्तो आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिले देश–विदेशमा रहनुभएका सबै ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुहुँदै आ–आफ्नो स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पु¥याउन आह्वान गर्नुभएको छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारीमा ः हाम्रो उमेर र बुढ्यौलीका कारण ज्येष्ठ नागरिकलाई गरिने सम्बोधनमा परिवर्तन ल्याउँछ ?’ भन्ने रहेको छ । राष्ट्रपति भण्डारीले हाल विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारीका सन्दर्भमा यो नारा सामयिक रहेको उल्लेख गर्नुभयो ।
उहाँले हाम्रो सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवो भवः, पितृदेवो भवः’को भावना पनि हो भन्नुभएको छ । सन्देशमा भनिएको छ, “सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात् गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो, आ–आफ्नो स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन म सबैमा आह्वान गर्दछु ।”
परिवारको लालनपालन सहित जीवनको अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सिप र अनुभव प्रयोग गरेर समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकले पर्याउनुभएको योगदानको राष्ट्रपतिले उच्च मूल्याङ्कन गर्नुभएको छ । ज्येष्ठ नागरिकले जीवनभर सँगाल्नुभएका ज्ञान, सिप र अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग
ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानले गरेको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशातर्फ नेपाल सरकार अग्रसर रहेको छ ।
ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा रहेको सरकारले २०५१ सालमा ज्येष्ठ नागरिक भत्ता सुरु गरेको थियो । त्यसपछिका सरकारले पनि यसलाई निरन्तरता दिँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मासिक एक हजार रुपियाँ भत्ता वृद्धि गरेपछि हाल ज्येष्ठ नागरिकले मासिक तीन हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई जीवनोपयोगी बनाई थप विस्तार गर्दै लैजान सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
सामाजिक सुरक्षाको दायरालाई क्रमशः फराकिलो बनाउँदै सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरेको छ । यी कदमले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान वृद्धि गर्न योगदान पुगेको छ ।गोरखापत्रबाट





















