गोरखा / गण्डकी गाउँपालिकाको लामो समय देखिको विवाद पछि साबिककै ओखलडाँडामा गाउँ कार्यपालिकाको कार्यालय राख्ने निर्णय गर्दै टुंगिएको छ ।
मंगलबारको गाउँसभामा मतदान प्रक्रियाबाट गाउँपालिकाको केन्द्रसम्बन्धी बिवाद टुङ्गिएको अध्यक्ष होमबहादुर रानाले जानकारी दिए । गाउँ सभा सदस्यहरु मध्ये २२ जनाले साबिककै ठाउँ ९ वडा नम्बर ६ को ओखलडाँडा मै राख्नुपर्ने पक्षमा मतदान गरे भने २१ जनाले बन्टार सार्नुपर्ने पक्षमा मतदान गरे ।
अध्यक्षको मत सहितले साविकको ठाउँमा राख्नुपर्ने पक्षमा बहुमत देखिएपछि सोही आधारमा केन्द्र निर्धारण प्रक्रिया टुङ्गिएको अध्यक्ष रानाले बताए । गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेपछि अब केन्द्र भने अहिले भएकै ठाउँमा रहनेछ ।
आज मंगलबार देखि शुरु भएको गाउँसभा भने बुधवार पुनः सञ्चालन हुने भएको छ । मंगलवारका लागि डाकिएको गाउँ सभा बुधवारसम्म लम्बिएको हो । ‘मंगलवार केन्द्रको विषय, बिभिन्न ९ वटा विधेयक पास र अन्य विषयमा छलफल भयो’ वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मीले भने ‘बुधवार १ बजे पुन बैठक बस्ने गरी मंगलवार ५ बजे स्थगित भएको हो ।’
गाउँपालिका अध्यक्षले चालु वर्षको नीति कार्यक्रम र उपाध्यक्षले बजेट प्रस्तुत गर्न बाँकी छ । ती दुबै विषयमा बुधवार छलफल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले बताए ।





















