काठमाडौं / आन्तरिक विवाद समाधान गर्न मन्त्रिपरिषद पुर्नगठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चार मन्त्रालय पूर्व माओवादीलाई दिनुपर्ने माग गरेका छन् ।
तर प्रधानमन्त्री ओलीले यो विषयमा कुरै नगर्नु भन्दै पन्छाएको वालुवाटार निकट स्रोतले जनाएको छ । विहिबारको छलफलमा प्रचण्डले अहिलेको मन्त्रीपरिषदका रहेका मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री ल्याउने र त्यसका आवश्यक पर्ने पुराना मन्त्रीहरुलाई दोहोर्याउने तथा मन्त्रालय समेत साटफेर गरौ भन्ने प्रस्ताव गर्दै सञ्चारमन्त्रालय मागेका थिए । तर ओलीले यो विषयमा कुरा नगर्नू भनेका थिए ।
‘प्रचण्डले सञ्चार मन्त्रालय पूर्व माओवादी समूहलाई दिन माग गर्नुभएको हो तर प्रधानमन्त्रीले यो विषय नउठाउनुस भन्नुभयो’, स्रोतले भन्यो । प्रधानमन्त्रीले सञ्चार मन्त्रालय पूर्व माओवादीलाई दिने भन्दा पनि आफू निकट रहेका पूर्व एमाले मन्त्रीलाई जिम्मा लगाउने तयारी गरेका छन् ।
हाल परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाले पनि सञ्चार मन्त्रालयको जिम्मेवारी भने पाइसकेका छैनन् ।





















