पोखरा / रिक्त भएको १ वर्षमा पोखरा विश्वविद्यालयले उपकुलपति (भिसी) पाउने देखिएको छ । सरकारले पोखरा सहितका ३ विश्वविद्यालयमा भिसी नियुक्तिका लागि सहमति जुटाएको प्रधानमन्त्री निवास बालुवाटर स्रोतले जनाएको छ ।
झन्डै दुईतिहाईको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारले विश्वविद्यालयमा भिसी लगायत पदाधिकारीका लागि प्रतिपक्ष कांग्रेससँग पनि भागबन्डा मिलाएको छ । २ विश्वविद्यालयमा आफू निकट र एउटामा कांग्रेस निकट भिसी नियुक्तिको सहमति सरकारले जुटाएको हो ।
पोखरा विश्वविद्यालयमा कांग्रेस निकटलाई भिसी नियुक्त गर्न सरकारले शेरबहादुर देउवासँग नाम मागेर लिइसकेको छ । कांग्रेस सभापति देउवाले प्रा.डा. प्रेमनारायण अर्यालको नाम सरकारलाई दिएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय दाङमा प्राध्यापक डा. यादवप्रकाश लामिछाने र कृषि र वन विश्वविद्यालय चितवनमा डा. पुण्य रेग्मी उपकुलपति नियुक्त गर्ने तयारी सरकारले गरेको बालुवाटार स्रोत बताउँछ । लामिछाने र रेग्मी दुवै सत्तारुढ दल निकट हुन् । बालुवाटार स्रोत भन्छ, ‘सहमति जुटिसकेको छ, आइतबारसम्म निर्णय सार्वजनिक होला ।’
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. चिरञ्जीवी शर्माको पदावधि पोहोर असोज पहिलो सातादेखि सकिएको थियो । त्यसयता उपकुलपतिको जिम्मेवारी केही समय निमित्त र कार्यवहाकका भरमा चलेको थियो । तर ६ महिनाभन्दा बेसी भने उक्त जिम्मेवारीमा कोही थिएन ।





















