काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका रानीवनमा रहेको आइसोलेसन सेन्टरको ढल र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
नेता श्रेष्ठले आज देखि नै काम शुरु गर्न सहरी विकासका महानिर्देशक मणिराज गेलाल, स्वास्थ्य सेवा विभागका डी जि डा.दिपेन्द्र रमण सिंह, सर्वाङ्ग हस्पिटलका प्रमुख शुशिल बाबु खनाललाई निर्देशन दिएका हुन्।
श्रेष्ठको सचिवालयअन्तर्गत गठित कोभिड( १९ भोलेन्टियर सर्भिसको मंगलबार भएको “जनतासँग अन्तरसम्वाद र सहकार्य” कार्यक्रममा स्थानीयले आइसोलेशन सेन्टरको ढल र फोहोर व्यवस्थापन नहुँदा आफूहरुलाई समस्या परेको गुनासो राखेका थिए। उक्त आइसोलेसन सेन्टरको व्यवस्थापन कुपण्डोल स्थित सर्वाङ्ग हस्पिटलले गरेको छ।
ढल र फोहोर व्यवस्थापन नहुँदा वरिपरिको बस्तीमा असर परेको भन्दै स्थानीय चिन्तित बनेको स्थानीयबासी तथा कलाकार मरिचमान श्रेष्ठ “बल्छी ध्रुवे”ले बताए।
रानीवनमा रहेको उक्त ५ सय ८० बेड रहेको आइसोलेसन सेन्टरमा अहिलेसम्म ३५८ जना कोरोना संक्रमित रहेका छन्। कोरोना संक्रमितहरु स्थानीय नागरिक र नेपाली सेना बढी मात्रमा रहेका छन्।
कोभिड-१९ भोलेन्टियर सर्भिस अभियान गठन भएपछि अहिले सम्म ९१ जनाको पीसीआर टेष्ट, १० जनाको आइसोलेसन व्यवस्थापन, विदेशमा अलपत्र परेका ७ जनाले अभियानमा सम्पर्क गरेका मध्ये २ जना नेपाल फर्किएका र बाँकीलाई प्रक्रिया पुर्याएर नेपाल फर्काउने अभियान संयोजक इन्द्रराज भट्टराईले बताए।





















