काठमाडौं / नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।
गौतमका अनुसार काठमाडौं उपत्यकामा ७ सय ५५ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्र ६ सय ९ संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना संक्रमित थपिएका छन्। उपत्यकामा थपिएका संक्रमितमध्ये २ सय ७९ जना महिला छन्।
पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।





















