काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल–चीन सीमा प्रश्नमा सरकारको हतारो टिप्पणी बारे ध्यानाकर्षण भएको जनाएको छ । स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।
नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकता बारे वस्तुगत अध्ययनकै क्रममा हुनुहुन्छ ।
सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने हाम्रो बुझाई छ ।
बिहीबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुअघि नै सरकारले ‘सीमा मिचिएको छैन’ भनेर धारणा सार्वजनिक गरेको प्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
























