मेरा हजार सपनाहरु पुरा गर्न
जिन्दगी सँग कदापि हारेको छैन
केही क्षण अस्त व्यस्त हो तर
परिस्थिती सँग डगमगाएर टारेको छैन
यो मौसम सँगै मेरा दिनहरु चाँडै
विहानीको झुल्के घाम सरी खुल्ने छन्
शरद ॠतुमा झुलेका धानहरू सरि
मेरा अनगिन्ती सपनाहरु झुल्ने छन्
गुनासो छैन जिन्दगी सँग किनकी जो
सक्षम छ उसलाई नै भारी बोकाइन्छ
जसले हार्न जान्दैन,कामहरु टार्न जान्दैन
उसलाई नै कडा चट्टान सँग ठोकाइन्छ
म हारेको छैन बस यो शरद ॠतुको भारी
बर्षातमा आफुलाई यहिँ तोली रहेको छु
मेरा पाइलाहरु आतुर छन् दौडन, बस यी
कलम द्वारा मेरो भावहरु खोली रहेको छु।
आदर्शका बातले मात्र हैन जिन्दगी
आदर्शका भावले पनि जिउन खोज्दैछु
आफ्नो पिडालाई थाती राखेर हर्षको
साथ अरुको घाउ सिउन खोज्दैछु।
( देविका कुवँर दुखको साथी अभियानको संयोजक हुनुहुन्छ )





















