काठमाण्डौं / डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको छ ।
नेपालगञ्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिए लगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका हुन् ।
सोमबार जुम्लाबाट नेपालगञ्ज आएका डाक्टर केसीले मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताएका थिए । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ ।
उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरूले एम्बुलेन्स ट्रमा सेन्टर लगेर भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लिएर गएका हुन् ।
डा. केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकहरूले छलफल गरिरहेका छन् भने केसीका समर्थकहरूलाई उनीसँग भेट्न दिइएको छैन । काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितका लागि आफूले उठाएका माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका थिए ।
प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्याइएका डा. गोविन्द केसीले कुनै प्रकारको परीक्षण तथा उपचारका स्वीकार नगर्ने अडान लिएका छन् । ट्रमाका निर्देशक डा. सन्तोष पौडेलका अनुसार डा. केसीको स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालबाट चिकित्सकहरूलाई पनि बोलाइएको छ ।
डा. गोविन्द केसीले विमानस्थलमा ओर्लिएर शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढे पनि आफूलाई प्रहरीहरूले अपहरण शैलीमा ट्रमा सेन्टर ल्याएको बताएका छन् ।
डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्ने समेत बताएका छन् । “मलाई शिक्षण अस्पताल नलगेसम्म म रगत, पिसाब केहीको पनि जाँच गर्न दिन्नँ । रक्तचाप र ज्वरो समेत पनि नाप्न दिन्नँ”, उनले भने ।
चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनुपर्ने लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने माग राख्दै जुम्लामा अनशन गरिरहेका डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती अस्पताल पुर्याएको थियो ।
(इकान्तिपुर डट कमबाट साभार)





















