चितवन / भरतपुर महानगरपालिकामा बिधुतिय तार भुमिगत गर्ने योजना अन्तर्गत पहिलो चरणमा मुख्य बजार क्षेत्रकोमा गर्ने भएको छ । शहरी सौन्दर्यता चितवनको भरतपुरमा विद्युतिय तार भूमिगत बनाउने काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने योजना अनुसार विद्युतिय तार भूमिगत बनाउने काम सुरु गर्न लागेको हो ।
प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा भरतपुर महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढ्न लागेको हो । महानगरमा आईतबार बसेको बैठकले केहि दिनमा नै पहिलो चरणको काम थाल्ने निर्णय गरेको छ ।
पहिलो चरणमा महागरपालिकाको नारायणगढको नारायणगढ वसपार्कदेखि पुल्चोक र चौविसकोठी हाकिमचोकसम्मको २६ किलोमिटर मूल सडकमा रहेका विद्युतको तारलाई भूमिगत गर्ने तयारी भएको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जानकारी गराईन् ।
विद्युत लाइन भूमिगत गर्दा सडक खन्ने काम नगरिने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बताए ।
‘एक सयदेखि दुईसय मिटरसम्ममा तार निकाल्ने गरी जमिनमुनी प्वाल बनाउँछौं, सबै सडक भत्काउँदै हिँड्दैनौ,’ वितरण केन्द्रका प्रमुख महतोले भने, ‘यसले दोहोरो तेहेरो क्षति गदैन, स्रोतको दुरुपयोग पनि हुँदैन ।’
प्राधिकरणले भूमिगत तार विछ्याउँदा नेपाल टेलिकम, केवुल प्रदायक कम्पनी र इन्टरनेट कम्पनीसँग पनि समन्वय गर्ने योजना बनाएको छ । करिब एक अर्ब २० करोडको लागत अनुमान सहित विस्तृत परियोजना प्रतिवेदन डीपिआर तयार भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । बढीमा ३ बर्षमा सम्पन्न हुने गरी काम गरिने जोशीले बताए ।






















