काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको छ।
आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद पुनर्गठनबारेमा आजको सचिवालय बैठकमा छलफल भयो,’ । ‘मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत रूपमा र मापदण्डबारे छलफल सुरू भएको छ। नामबारे छलफल भएन। आवश्यकता परेमा नामबारे प्रधानमन्त्रीसँग पछि यसबारे छलफल गर्न सकिन्छ।’
बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेश भएका छन्।
सरकारले गर्ने नियुक्ति विषयमा आधार तय गर्न छलफल गर्न लागिएको उनले बताए। उनले आजको बैठक सोमबार १ बजे पुनः बस्ने गरी स्थगित भएको जानकारी दिए ।





















