सामाजिक न्यायको लागि समाजका प्रत्येक नागरिकको समान अधिकार र कर्तव्य हुन्छ । न्याय आफूले अरुलाई गर्न सिक्दा आफूले पनि न्याय पाईन्छ । अन्याय कसैले नगर्ने हो भने सवैलाई न्याय हुन्छ ।
समाजमा न्याय र अन्यायको तुलना घर–परिवार, छिमेक, पंन्च भलाद्धमी हुदै कानूनको निर्माण तथा कार्यान्ययनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका पक्षहरुको वीचमा हुन्छ । कानून समाजमा मत्य न्याय नहोस भनेर वनाईन्छ र यसको कार्यान्वयन पनि गरिन्छ । कानून सवैलाई समान रुपमा लागू हुनु पर्दछ ।
समान व्यक्तिहरु वीच समान कानूनी अधिकार र कानूनको शासनको प्रकृया अनुसार नै कानूनको कार्यान्वयन होस् भनेर सवैले कानूनको शासनमा आशा र भरोसा गरेका हुन्छन् । तर हाम्रो देशमा गणतन्त्र, धर्मनिरपेक्ष तथा संघियताको कुराहरुले गर्दा कानून, कानूनको शासन तथा कार्यान्वयनमा दिर्घकालिन समस्या आर्ई रहेको छ ।
समाजमा अपराधहरु दिन प्रति दिन वढि रहेका छन् । यसलाई नियन्त्रण गर्न सरकार र प्रहरी प्रशासनले मात्र सक्दैन । अपराध र अन्याय समाजमा घट्ने घटना भएकोले समाजका हरेक व्यक्तिलाई यो चासो र सरोकारको विषय हुनु पर्दछ ।
हाम्रो देशका समाजमा अहिले ३ प्रकारका मान्छे देखिएका छन् । झोले, खोले र नवोले । झोले नेता तथा हाकीमले वोलेको कुराई हो हो र ठिक अनि ठिक मात्र भन्न सक्छन् अरु सक्दैनन । त्यस्तो झोलेको संख्या पनि वढ्दो छ । लगाम लगाएको घोडा र यस्ता झोलेको आकार प्रकार फरक होला तर आचारण र व्यवहार समान छ ।
अर्को खोले खानकै लागि संघर्ष गर्न वाध्य छन् । थिचो मिचोमा परेका छन् । लाटाको सन्तानको जस्तो अन्याय र थिचोमिचो सहन वाध्य छन् । झोलेले चुनाव र हाहाकारमा यस्ता खोलेलाई प्रयोग गर्छन । अर्को थरी छ नवोले । यस कोटामा पर्ने मान्छे जसले जस्तो गरे पनि वोल्नु भन्दा चुप लाग्दा वेश भनेर वोल्न चाहादैन । वजार भाउ वढे पनि ठिक, सरकार दिन दिनै फेरे पनि ठिक अनि जसले जे गरे पनि वेश भन्ने यिनीहरुको धर्म हो । यसरी यस्ता ३ थरिका मानिसलाई झोलेको मालिकले घुमाई रहेको हुन्छ । यस्ता प्रमाणीत दृश्य र प्रमाण काफी छन् ।
यसमा अन्यायमा परेका झोलेले आफ्ना पुरेतवाट न्यायको वक्सिस् पाउँछन र यसैमा विश्वास अनि भरोसा राख्छन् । खोले तथा नवोले समूहका मान्छेहरु कानूनी उपचारको खोजीमा जता ततै पुग्छन् । प्रशासन, वकिल, कर्मचारी अनि न्यायिक तथा अर्ध न्यायिक निकाय । यसमा अन्याय गर्ने, अपराध गर्ने अनि पैसाको वलमा कानून हातमा लिन मरिहत्ते गरेर लाग्ने मान्छेको समूह पनि कमि छैन ।
यसैमा हाम्रा प्रशासन, वकिल, कर्मचारी र सरोकारवाला संस्थाका प्रमुख पनि न्याय निरोपणको लागि अभिन्न अंग हुन् । अपराध गर्नेलाई कानून अनुसार सजाय पाउनु त त्यस्ता व्यक्तिको हक हो । अन्याय र अपराध गर्नेलाई सजाय गर्ने नै कानूनको मकसद हो । कसैलाई अपराध घट्न पाउदैन अर्थात मुद्धा पर्न साथ यसको तीनपुस्ते खोजेर हिड्न आवश्यक छैन । पैसाको राँकोले अपराध गर्न र गरेको अपराध छोप्न सकिन्न ।
जोडतोडका साथ पैसाको करामतले समाजमा अपराध वढ्नु र भएको अपराध लुकाउन चेष्ठा गर्नु पनि अर्को ठूलो अपराध हो । यसैलाई वाहाना वनाएर कतिपय न्यायकर्मीले पैसाको मोलतोल गरी अपराधी छुटाउनको लागि कसरत गरेको पनि सुनिन्छ । यो नितान्त गलत परंपरा हो । कानूनको ठाडो उलंघन हो । यसमा निश्पक्ष रुपवाट हेर्न आवश्यक छ ।
अपराध गर्नेको तर्फवाट मुद्धा मामिलामा वहस पैरवी गर्दा पनि हरेक वकिलले आत्मीय मनले सोच्न आवश्यक छ । कानूनकर्मीको कारणवाट पनि समाजमा अपराधको संख्या वढ्दै गएको पनि हुन सक्छ । धेरै अवस्थामा जाहेरवालाहरु मर्कामा परेका हुन्छन् ।
जाहेरवाला निर्धो र कमजोर पनि हुन्छ । प्रतिवादी वलवान हुन सक्छन् र पो अपराध घटाउन सक्छन् । यस्तो आड भरोसामा जाहेरी दरखास्त पर्दा देखि नै प्रतिवादीका वकिलहरु जुरमुराएर लागि परेका हुन्छन् । आज पक्षवाट देखिन्छन् । भोली विपक्षवाट देखिन्छन् ।
आज सकरात्मक देखिन्छन् । भोली नकरात्मक देखिन्छन् । त्यस्तै प्रकृतिका अपराधमा पक्षको वचाउ एक प्रंकारवाट जोडदार रुपमा हुन्छ अनि भोली सोही प्रकृतिको मुद्धामा सोही प्रकारवाट खण्डन गर्छन् । हिजो कानूनकर्मीले लिने र पढ्ने कानून पनि त्यही थियो ।
आज पनि त्यही छ तर यिनिहरुको काम गराई र प्रतिरक्षा वा दावी गर्ने कानूनी वोलीमा फरकपन देखि रहदा समाजका सामाजिक मान्यताको भूमिकामा अर्थ फरक लाग्न थाल्यो । रकम र पहुँचकोे आधारमा वोली परिवर्तन गर्न सम्वद्ध सरोकारवालाहरुलाई मिल्ने विषय पनि नहोला ।
यसमा पनि सम्पूर्ण मध्यस्थकर्ता तथा कानून कर्मीहरुले गंभिर भएर सोच्न आवश्यक छ । यसले गर्दा समाज र न्यायमा कानून र कानूनकर्मीको नकरात्मक पहिचान र व्याख्या हुनु अवश्य राम्रो कुरा होईन । यस्तो आचरण सुधार्न हरेक पेशाकर्मीको लागि आवश्यक छ । फेरी कानून अनुसारको सजाय पाउंदा अपराधिहरुको वाकीं जीवनमा सुधार पनि हुन सक्छ र उ समाजको दयालु र आवश्यक मान्छे पनि वन्न सक्छ ।
समाजमा रहेका हरेक व्यक्तिले रकम कलमलाई न्याय र अन्यायमा स्वार्थपरक रुपले व्याख्या र ग्रहण गर्नु हुदैन । समाजलाई र आफ्नो भित्री आत्मालाई पनि भलो र आनन्द हुने आचरण र व्यवहार गर्न, गराउन अनि सिक्न ढिलो भएको छ ।
यसलाई समयामा व्यवस्थापन गर्न नसक्दा दिर्घकालिन रोग वनेर समाजमा स्थापित हुन सक्छ । न्याय निरोपण गर्दा पिडक र पिडित दुवै पक्षको आश्रित परिवारको सदस्यको वारेमा पनि राज्यले उचित ध्यान दिन जरुरी हुन्छ ।
अन्यथा निजहरुवाट आश्रित परिवारको सदस्यको उचित हेरचाह, स्याहार, संरक्षण तथा स्वास्थ्य शिक्षा आदिको अभावको कारण समाजमा फेरी अपराध घट्न सक्ने प्रवल सम्भावना हुन्छ र राज्यले आफ्नो नागरिकलाई सदुपयोग गर्न नसक्दा त्यस्ता नागरिक समाज र राज्यको लागि वोझ पनि हुन सक्छ । यो सवैको रोग र शोक हो ।
समाजमा अपराध वढ्नुको कारण खोजी वेलैमा राज्यले समाधान गर्न सदैव जरुरी रहन्छ ।
(लेखक हरि मैनाली अधिवक्ता तथा नोटरी पव्लिक आधिकारिक अनुवादक हुनुहुन्छ )





















