चितवन / चितवन जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका संस्थागत विद्यालयका शिक्षक यति बेला आर्थिक समस्यामा परेका छन्। कोभिडका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि चितवनका शिक्षकले विगत ६ महिनादेखि तलब पाउन सकेका छैनन्। शिक्षकहरु पैसा नभएर तनावमा बसेका छन् ।
गएको चैत महिनामा वार्षिक परीक्षा सकेर तलब सुविधा पाउने आसमा बसेका शिक्षक–कर्मचारीले लामो समयसम्म तलब सुविधा नपाउँदा जिविका चलाउनै मुस्किल भएको बताएका छन्।
चितवनमा सञ्चालित संस्थागत विद्यालयले विद्यार्थीको शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएकाले नियमित कक्षा सञ्चालनपछि मात्रै बाँकी तलब सुविधा उपलब्ध गराउने बताएका छन्। तर, दिनरात नभनी मिहिनेत गरेर विद्यालयको हितमा काम गरेका शिक्षकले संकट र आवश्यकता पर्दा विद्यालय प्रशासनबाट सहयोग नपाएको गुनासो गरेका छन्।
लकडाउनपछि वार्षिक परीक्षाको नतिजा,अभिभावकसँग नियमित सम्पर्क र अनलाइनबाट विद्यार्थीलाई पढाइरहेका शिक्षकले तलव सुविधा बारे बोल्न सक्ने अवस्था नभएको बताएका छन्।
‘नियमित काम गरेको तलब पाउन नसक्दा धेरै समस्या भएको छ,अहिलेसम्म विद्यालयले गरेको कमाइबाट पनि तलब दिन समस्या थिएन, योग्यताले काम गरेर पाउनुपर्ने तलब माग्दा पनि पाइएन’ एक शिक्षकले दुखेसो गरेका थिए ।
सामाजिक सञ्जालमा तलब बारे घुमाउरो तरिकाले लेख्दा समेत अघोषित चेतावनीको सामना गरे पछि चुप लागेर बसेको उनले बताए। आफ्नो परिचय खुले, भविष्यमा जागिरको अवसरबाट वञ्चित हुनुपर्ने, व्यक्तिगत सम्बन्ध बिग्रिने ,पेशागत अनुशासन जस्ता विभिन्न कारणले माघ र फागुनको पनि तलब समेत नपाएका शिक्षक समेत चुपचाप बसेका छन्।
९० प्रतिशत विद्यालयले वैशाख यता तलब दिएका छैनन्,‘सरसापट गरेर कति दिन गुजरा चलाउने ? ’ बषौं देखि निजी विद्यालयमा अध्यापन गराइरहेका एक शिक्षकले भने।





















