गोरखा / उत्तरी गोरखाको अति दुर्गम लाक्पाल गाउँमा १७ घरधुरी गुरुङ समुदायको बसोबास रहेको छ ।
गोरखाको धार्चे गाउँपालिका वडा नं. ३ लाक्पाल गाउँका काशी गुरुङको परिबारले यो बर्खा रातभर जागै बसेर बिताए । गत जेठमा झरेको पहिरोले चार बर्षे छोरा आकासको जीवन समाप्त पार्यो । छ बर्षे छोरी बिनितालाई घाइते बनाएपछि उनीहरु राती निदाउन नसक्ने बताउँछन् ।
काशी गुरुङका अनुसार यहाँको १७ घर अत्यन्तै जोखिममा छौँ ।’ ‘दिनमा त बरु पहिरो आएको देखिन्छ । भागौँ भने पनि सकिन्छ । राती पहिरो आयो भने कहाँ भाग्ने भनेर हामी रातभर निदाउनै सक्दैनौँ’, उनी भन्छन्, ‘हिउँदमा पनि सुख्खा पहिरो झर्छ । बर्खामा त झन भइहाल्यो ।’ बिगत केही बर्षदेखि खलुङडाँडाबाट झरिरहने पहिरोले गाउँ जोखिममा परेको उनले बताए ।
‘खलुङडाँडा पहिले देखि चिरिएर चिराचिरा भएको छ । हिउँद बर्खै पहिरो झरिरहन्छ’ लाक्पालबासी अन्यत्र सर्न चाहेको धार्चे गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङ बताउँछन् । ‘उनीहरुलाई सरकारले तत्काल अन्यत्र सार्नुपर्छ । बेलैमा समाधान खोजिएन भने बाग्लुङ, सिन्धुपाल्चोकको जस्तो अप्रिय घटना हुनसक्छ ।’
फाइल फोटो





















