काठमाडौं / देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १० हजार ८७८ वटा पिसिआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ।
आज काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ४ सय ४० संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ४३ र ललितपुरमा २९ जना थपिएका छन्।
हाल देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि गौतमले बताए। यस्तै, प्रवक्ता गौतमका अनुसार संस्थागत आइसोलेसनमा रहनेहरूको कुल संख्या ८ हजार ११८ छ भने होम आइसोलेसनमा रहनेहरूको कुल संख्या ७ हजार २७५ छ।
त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको कुल संख्या ६ हजार ८९२ छ। त्यसैगरी, हाल देशभरका विभिन्न अस्पतालहरूमा आइसियुमा उपचाररतहरूको संख्या १७९ छ भने भेन्टिलेटरमा उपचाररतहरूको संख्या २९ छ। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, सर्लाही, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही गरी सात जिल्ला छन्।
त्यस्तै, हालको समयमा एकजना पनि संक्रमित नभएका जिल्लाहरू सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु गरी सात जिल्लाहरू छन्।





















