चितवन / चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो आइतबार रातिसम्म गरिएको परिक्षणको सोमबार बिहान सार्वजनिक विवरण अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ११ जना, कालिका नगरपालिकाका १० जना, इच्छाकामना गाउँपालिकाका ६ जना र रत्ननगर नगरपालिकाका १ जना छन् । भरतपुरमा संक्रमण देखिएकाहरुको स्वाब भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट तथा अन्य पालिकाको सम्बन्धित पालिकाबाटै संकलन गरिएको थियो ।
आईतबार १७३ वटा नमुना परिक्षण गर्दा १४५ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा भने ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।





















