काठमाण्डौं / सत्तासीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार साँझ बालुवाटारमा समीक्षा छलफल भएको छ।
स्थायी कमिटी बैठकपछि उनीहरूबीच पहिलो छलफल भएको हो। गत शुक्रबार स्थायी कमिटी बैठक बसेको थियो। साँझ साढे ७ बजेसम्म चलेको छलफलमा स्थायी कमिटी बैठकको समीक्षा भएको थियो। बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।
स्रोतका अनुसार स्थायी कमिटीले एकतालाई बलियो बनाउने र सहमतिका साथ अघि बढ्ने कुरालाई जोड दिएको निष्कर्ष अध्यक्षद्वयले निकालेका छन्। दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन र राजनीतिक नियुक्तिका बारेमा पनि छलफल भएको छ ।
गत १० गते सुरु भएको स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटकपटक स्थगित रह्यो। तर, महासचिव पौडेलको संयोजकत्वमा रहेको कार्यदलको प्रतिवेदनका आधारमा अध्यक्षद्वयले प्रस्ताव अगाडि बढाएपछि शुक्रबार बैठक सकिएको थियो।
स्थायी कमिटीले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति मापदण्ड बनाएर गर्ने र त्यसका लागि पार्टीमा छलफल गर्ने निष्कर्ष निकालेको थियो।





















