काठमाडौँ / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार वर्षपछि हवाई भाडा बढाउन तयारी गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको नेतृत्वमा बनेको समितिले भाडा बृद्धि गर्नेबारे प्रतिवेदन मन्त्रालयलाइ बुझाइसकेको छ।
उक्त प्रतिवेदनकै आधारमा मन्त्रालयले भाडा बढाउने तयारी गरिरहेको हो।
स्रोतले जनाए अनुसार मन्त्रालयमा बुझाइएको प्रतिवेदनअनुसार १५ देखि २५ प्रतिशत भाडा बृद्धि गर्ने प्रस्ताव रहेको छ।
जसमा लामो धावनमार्ग भएका तराईका विमानस्थलमा १५ देखि २० प्रतिशत र छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थलमा २५ प्रतिशतसम्म भाडा बढाउने प्रस्ताव गरिएको छ।
केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सहभागितामा प्रतिवेदनमाथि भएको छलफलपछि निजी क्षेत्रको सुझावसमेत समावेश गरेर ल्याउन भन्दै उक्त प्रस्ताव क्यानमा फिर्ता गरिएको छ।
‘क्यानबाट आएको प्रतिवेदन तथा प्रस्तावका बारेमा मन्त्रालयमा छलफल भयो। भाडा बढाउने वा नबढाउने भन्ने भन्दा पनि निजी क्षेत्रको रायसमेत थप गरेर ल्याउन भन्दै क्यानलाई निर्देशन दिइएको छ,’ छलफलमा सहभागी एक अधिकारीले भने।
हवाई भाडा प्रत्येक २ वर्षमा समायोजन गर्नुपर्ने नियम छ। यद्यपि गत चार वर्षदेखि समायोजन नभएको भन्दै व्यवसायीहरूले भाडा बढाउन माग गर्दै आएका थिए।
इन्धनको मूल्य तलमाथि हुँदा हवाई भाडा घटबढ भइरहन्छ । तर प्राविधिक रुपमा हवाई भाडा भने सरकारले मात्र निर्धारण गर्छ।





















