चितवन / चितवनका होटल व्यवसायीले सञ्चालनको माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएर होटल व्यवसाय सञ्चालनको माग गर्नुभयो ।
कोरोना (कोभिड १९) का कारण बैंक व्याज ,घरभाडा र कर्मचारी व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनु पर्ने संघको माग छ । लकडाउन र निषेधाज्ञाका कारण सबैभन्दा धेरै समस्या होटल व्यवसाय परेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
“धेरै होटलहरु भाडामा सञ्चालित छन, भाडा तिर्न घरबेटीको निरन्तर दबाब झेलिरहनुपरेको छ ।” उहाँका अनुसार कतिपय घरधनिले त घर भाडमा छुट समेत नदिएको न्यौपानेले बताउनुभयो । कोरोनाका कारण व्यवसाय सञ्चालन अन्योलमा रहेको भन्दै , धेरै व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गर्नुभयो ।
नेपाल होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष इमान्दु बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्नुभयो । गाँउघरका साना होटल सञ्चालनमा आइरहेको तर शहरी क्षेत्रका व्यवस्थित होटलहरु बन्द हुँदा झन एकैठाउँमा जम्मा भएर कारोनाको जोखिम बढाइरहेको उहाँले बताउनुभयो ।
संघका जिल्ला उपाध्यक्ष कृष्ण भट्टले होटल व्यवसाय सञ्चालन भइसकेपछि पनि ग्राहकहरु आउन समय लाग्ने भएकाले क्रमशः खुल्ला गर्दै जानुपर्ने बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लामा कोरोना संक्रमण झन बढ्दै गएकाले तत्काल होटल रेष्टुरेन्ट सञ्चालन गर्न नसकिने बताउनुभयो । उहाँले होटल व्यवसायी संघले कोरोना विरुद्धको लडाइमा सहयोग गरिहरहेको भन्दै उहाँले परिस्थितिलाई क्रमशः सहज बनाइदै लगिने बताउनुभयो । जिल्लामा संक्रमण फैलिरहेको स्रोतको पहिचान गरेर कडाई गर्न थालिएको भन्दै उहाँले केही समय धैर्य गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।





















