काठमाडौं / नेपालमा विवादित बनेको अमेरिकी अनुदान सहयोग सम्झौता (एमसीसी) संसदबाट अनुमोदन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाा) पनि तयार भएको छ ।
गत असार १० गतेदेखि शुरु भएर शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले एमसीसी सम्झौतालाई सदनको नियमित प्रक्रियामा लगेर अनुमोदन गर्ने निर्णय गरेको हो ।
तर, त्यस अगाडि आवश्यकता अनुसार संशोधन र परिमार्जनका लागि पहल गर्ने स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने निर्णय भएको जानकारी दिए ।
अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको १५ बुँदे प्रस्तावमै उल्लेख भएअनुसार स्थायी कमिटी बैठकले एमसीसीलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।
अध्यक्षद्वयले बैठकमा पेश गरेको प्रस्तावमा एमसीसीबारे भनिएको थियो, ‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन संझौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ ।
उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन संझौता र सो सम्वन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’
एमसीसी सम्झौतामा भएका कुन–कुन विषयलाई परिमार्जन गर्ने भन्ने विषयमा भने झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार पार्टीमा छलफल गरी निर्णय लिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।





















