काठमाडौं / कोरोना भाइरस (कोभिड १९) महामारीका कारण पेशा तथा व्यवसाय गुमाएर विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने भएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवबीचको छलफल पछि सरकार अन्तर्राष्ट्रिय उडान थप गर्ने निर्णयमा पुगेको छ ।
मन्त्रीहरुबीचको छलफल पछि उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।
प्रधानमन्त्री ओली पनि विदेशमा अलपत्र परेका नागरिकको उद्धारका लागि उडान थप गर्ने विषयमा सकरात्मक भएपछि निर्णय गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले जानकारी दिए ।
नयाँ निर्णयानुसार पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान कम्पनीले थप उडान माग गरेमा अनुमति दिइने छ ।
यस्तै, कुनै कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने निर्णय भएको मन्त्री भट्टराईले जानकारी दिएका छन् ।
श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका हकमा भने श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वय गरेर उडानको व्यवस्था गरिने मन्त्री भट्टराईले जानकारी दिएका छन् ।
मन्त्री भट्टराईका अनुसार नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने छ ।
कोरोनाका कारण रोजगारी गुमाएका नेपालीले पर्याप्त मात्रामा उडान संख्या नभएको भन्दै विदेशी भूमिमै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका दिए ।
७ महिनादेखि कामबिहीन भएर स्वदेश फिर्ताको प्रतिक्षामा रहेका उनीहरु सरकारले पर्याप्त उडानको व्यवस्था नगरेको भन्दै विरोधमा उत्रिएका थिए ।
विदेशमा अलपत्र परेका नेपाली नागरिक आफ्नै खर्चमा स्वदेश आउँदा समेत सरकारले पर्याप्त उडानको व्यवस्था नगरेको भन्दै सवत्र आलोचना भएपछि सरकारले आवश्यकतानुसार उडान थप गर्ने निर्णय गरेको हो ।





















