चितवन / सहकारी संस्थाले किसानलाई महँगोमा मल बेचेको समाचारको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पत्रकारलाई धम्की दिएको प्रति साप्ताहिक सञ्जाल नेपाल चितवनले गम्भिर ध्यानाकर्षाण भएको जनाएको छ । आज एक प्रेश विज्ञप्ती जारी गर्दै सञ्जालले ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ, मिति २०७७ साल भाद्र २२ गते चितवनका क्रियाशिल पत्रकारहरुलाई फोन मार्फत प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले धम्क्याउने भाषा प्रयोग गरेको प्रति यस साप्ताहिक सञ्जाल नेपाल चितवनको गम्भिर ध्यानाकार्षण भएको छ ।
देश लगायत चितवनमा पनि कृषकले मल पाईनरहेको अवस्थामा विभिन्न सहकारी संस्थाले चर्को मुल्यमा मल बिक्रि वितरण गरिरहेको थाहा हुन आएको छ । यसै समन्धमा पुर्वी चितवनमा अवस्थित निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले राज्यबाट अनुदानमा आएको मल महँगो मुल्यमा बिक्रि गरिरहेको भन्ने बारे जानकारी लिने उदेश्यले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन मार्फत सम्पर्क गर्दा चितवनका पत्रकार केदार शर्मा र शिशिर सिंखडालाई धम्कि पुर्ण भाषा प्रयोग गरेको प्रति हाम्रो गम्भिर असहमती रहेको छ ।
किसानले मल नपाएर रातदिन भौतारिनु परेको बेला मलको कालो वजारी गर्नेलाई कार्वाहिको साटो प्रमुख जिल्ला अधिकारीबाट नै समाचार किन लेख्ने ? भन्ने जस्ता आशयका शब्दहरु प्रयोग गरिनु जनतालाई समाचारबाट बच्चित गराउनु सरह हो भन्ने हाम्रो ठम्माई रहेको छ । जिल्लामा भईरहेको मलको कालो वजारीप्रति प्रशासन मौन रहेको भन्ने गुनासो जनताहरुले गरिरहेका छन् ।
संचार माध्यमले जनतालाई कुनै पनि कुराको सूचना पुर्याउने अधिकारलाई प्रशासन लगायत कुनै पनि क्षेत्रबाट तगारो नबनी दिनको लागि साप्ताहिक सञ्जाल नेपाल चितवन अनुरोध गर्दछ ।






















